फेसवुक म्यासेजले सिन्दुर भरिएको दिन

अमरराज पुन - रुकुम ।

जब रुपेशले झरणाको सिउँदोमा सिन्दुर भर्न थाल्यो,

मैले रुपेशलाई कहिल्यै आफ्नो सम्झिन सकेन ।

मैले मायाँ गर्ने मेरी झरणालाई उसले खोसेर लिए जस्तो भईरहृयो ।

ऊ मेरो लागि अब साथी रहेन ।”


गाउँको तल एउटा खोला । खोला किनारमा एकमात्र खरले छाएको मकै र कोदो पिस्ने पानीघट्ट । दशवर्ष अघि त्यो पानीघट्ट गाउँकै सुर्के काकाले बनाएका हुन् भन्ने थाहा थियो । गाउँका प्राय हुनेखानेहरुले कहिल्यै सुर्के काकाको पानीघट्टमा मकै र कोदो पिस्दैन्थ्ये । संधैजसो सुर्के काकाको पानीघट्ट ठप्प भईरहन्थ्यो । रात सुरु हुने बित्तिकै सुर्के काकाको पानीघट्टमा आगो बलिरहेको जस्तो देखिन्थ्यो । मैले हरेक रात एकटक हेरिरहन्थ्यें, तर आगो या अरु केही, अलमलमा पर्ने मेरो बानी नै बनिसकेको थियो । मनमा अनेक खुलदूलिहरु जागिरहन्थ्ये आखिर कसैलाई भन्न सकिरहेको थिएन । 


एकदिन घरकै पूर्वपट्टिमा रहेको एउटा कोठामा सुत्ने निर्णय गरें । त्यो कोठा पाहुनाका लागि मात्र प्रयोगमा आउने गथ्र्यो । किनकी पाहुना सुत्ने कोठामा घरका कुनै पनि परिवार सुत्नु हुन्न भन्ने हाम्रो संस्कार थियो । त्यसैले पाहुना सुताउने कोठामा मैले सुत्ने निर्णय गर्नु गलत सोच थियो । पुरानो संस्कारलाई मान्नुपर्छ भन्ने ज्ञान हामीलाई सानैदेखी सिकाईएको थियो । तर मैले हाम्रो संस्कारलाई मिच्न खोजिरहेको थिएँ । कारण एउटै थियो, हरेक साँझ रात सुरु हुने बित्तिकै सुर्के काकाको पानीघट्टमा एकटक बलिरहने आगोको रहस्य ।


दिन बितेर गए, रात बितेर गए मैले बनाईरहेको योजना फेल हुँदै गयो । उता सुर्के काकाको पानीघट्टमा भने रातैपिच्छे आगो बलिरहेको देख्दा मनले कत्ति मान्दैन्थ्यो । यता पाहुना सुताउने घरमा सुत्नु भनेको हारेर जित्नु सरह नै मानिन्थ्यो । हाम्रो त्यो पाहुना सुताउने कोठाको ढोकामा संधै ताला झुण्डयाईएको हुन्थ्यो । ताला खोल्ने साँचो मेरी आमाले गलाको पोतेसंगै साथमा राख्नुहुन्थ्यो । परिवारका अरु सदस्यलाई समेत ताला खोल्ने अनुमति हुँदैनथ्यो । आमा जहाँ जानुहुन्थ्यो साँचो साथमै लिएर जाने गर्नुहुन्थ्यो । 

 

इन्द्र, जिन्दगी फूलको थुंगा हो भन्थ्ये । सबैको नजरमा संधै फूलिरहँ जस्तो लाग्थ्यो ।

फूल्न चाहेर मात्र हुँदोरहेन्छ । एकदिन सबैले मन पराएको फूल पनि ओईलिएर झर्दो रहेछ ।

आज म पनि त्यस्तै ओईलिएको फूल जस्तै भईरहेको छु ।


गएको वर्ष मेरै उमेरका केही साथीहरुले गाउँमा धूमधामका साथ बिहे गरेका थिए । यो वर्ष पनि मंसिर महिना भर्खर सुरु भएकाले गाउँका प्रायः युवा जोडिहरु बिहे बन्धनमा बाँधिने काममा व्यस्त थिए  । मेरी आमा छिमेकी रमेशको बिहेको निम्तोमा जानुभएको थियो । घरमा कोही थिएनन् । बिहेमा जाँदा आमाले गलाको पोते घरमै बिर्सनुभएछ । त्यहि पोतेमा पाहुना सुताउने कोठाको साँचो थियो । आमालाई सम्झिएं, कोठाको ताला खोल्ने आँट गरिन । तर मलाई सुर्के काकाको पानीघट्टमा बलेको आगो हेर्ने हतार थियो । हड्बडाएरै भएपनि  पाहुना सुत्ने कोठाको ताला खोलें, भित्र पसें अंधेरोमा पाहुना सुत्ने कोठा कस्तो थियो ? देख्नै पाएन । जब कोठा भित्र पस्न सफल भएँ, त्यसपछि मेरो ध्यान सुत्ने भन्दा पनि सुर्के काकाको पानीघट्टमा बलेको आगोतिर नै गयो । त्यो बलिरहेको आगो पनि कतिबेला निभ्ने त कतिबेला बल्ने गथ्र्यो । मनमा अनेक प्रश्न उब्जिरहे, मनले मानेन । भित्रभित्रै सुर्के काकाको पानीघट्ट पुगौं जस्तो लागिरह्यो । एकातिर मनमा डर थियो । तर त्यहाँ जाने अठोट गरें । पौने घण्टाको हिंडाईपछि त्यो ठाउँमा पुगें । जहाँ त्यहि आगोको छेउमा साथी रुपेश र एक अपरिचित जस्तै लाग्ने एक युवती संगै बसिरहेका थिए । रातको समय भएकाले रुपेशसंग बसेकी युवतीलाई मैले चिन्नै सकिन । उनले मुख छोपेर निहुरीएकी थिईन् । मलाई देखेर होला दुवैजना डराए जस्तो गरिरहेका थिए । रुपेश मेरो पारी गाउँको मन मिल्ने पुरानो साथी थियो । हामीले एउटै स्कुलमा संगै पढेका थियौं । दश पास गरेदेखी उ शहर पढ्न गएको थियो । मैले गाउँकै स्कुलमा पढें । किनकी ऊ राम्रो खानदान भएको परिवारमा जन्मिएको थियो । उ शहर गएदेखी हामी दुईको भेट यसअघि कहिल्यै भएको थिएन । एक्कासी सुर्के काकाको पानीघट्टमा उ संग मेरो भेट भयो । मध्यरातमा खोलाकिनारको छेउमा उनीहरुलाई देख्दा मेरो मनले मानेन । मैले रुपेशलाई केही सोध्न खोजें तर, उसले यस्तो बतायो ......................। 


इन्द्र, जिन्दगी फूलको थुंगा हो भन्थ्ये । सबैको नजरमा संधै फूलिरहँ जस्तो लाग्थ्यो । फूल्न चाहेर मात्र हुँदोरहेन्छ । एकदिन सबैले मन पराएको फूल पनि ओईलिएर झर्दो रहेछ । आज म पनि त्यस्तै ओईलिएको फूल जस्तै भईरहेको छु । तिमिलाई मेरो बारेमा सबै थाहा छ । दश पास गरे लगत्तै म शहर पसेको थिएँ । बाबा आमाको सारा सपना पुरा गर्ने अठोट बोकेर नै शहर पसेको हुँ । तर, त्यसो हुन सकेन । शहरिया फेसनमा भूलियो । हामीलाई थाहा छ इन्द्र, गाउँमा हुँदा मोबाईल के हो ? थाहै थिएन । जुन दिन म अध्ययनकै लागि शहर पसें, त्यहाँको सबै शहरिया फेसनले छोयो । शहरमा गएदेखी नै मेरो साथ एक शहरिया साथी संग भयो । ऊ संगको उठबसले अचानक एउटा मोबाईल किन्ने निर्णयमा पुगें, र किनें पनि । त्यो मोबाईल सुरुका केही महिना बाबा आमा संग सुख दुख र विशेषतः केही काम परेको बेला मात्र कुरा गर्ने माध्यम बनेको थियो । विस्तारै साथीको लहलहैमा लागेर एकदिन नजिकैको साईबरमा पसें । त्यहाँ पुग्ने बित्तिकै साथीले मेरो फेसबुक आईडी बनाईदियो । एकघण्टाको साइबर बसाई पछि म कोठामा आएँ, मेरो साथी आफ्नो कोठातिर लाग्यो । विस्तारै साथीले बनाईदिएको फेसबुकमै किन किन अलि बढी ध्यान जान थाल्यो । पढाईमा समते रुची घट्दै गयो । बाबा आमाको सपनालाई भूल्दै विस्तारै फेसबुकको गहिरो लतमा फसें । संधै फेसबुक चलाईरहन थालें । कहिलेकाँहि त फेसबुकमा कुरा गर्दागर्दै सुत्न पनि भूलिन्थ्यो । एकदिन अबेर सम्म फेसबुक चलाईरहेको थिएँ । एक्कासी मेरो फेसवुकको म्यासेज बक्समा झरणा नाम गरेको आईडीबाट हाई म्यासेज आयो । म झन् के कम हतार–हतार गरेर हेलो भनिदिएं । त्यसपछि हामी दुईको सम्बन्ध त्यही हेलो हाई बाट सुरु भएर गहिराईमा पुग्यो । एक दिन बित्यो, दुई दिन बित्यो, विस्तारै सबै दिनको दैनिकि भूल्ने काम त्यहि फेसबुकले बनायो । म शहरमा थिएँ, झरणा गाउँमा थिईन् । हामी एकपल टाढा रहन सकेनौं । झरणाले गाउँमा आउन अनुरोध गरिन् । त्यस लगत्तै मैले शहरको पढाइलाई त्यहिं मायाँ मारेर गाउँ आएँ । गाउँ आए लगत्तै मैले उनलाई भेट्ने कोशिस गरिरहें । तर हरेक कोशिसहरु सफल भएनन् । अन्ततः हाम्रो भेट हुने चौतारी भनेको नै यहि खोला किनारमा रहेको पानीघट्ट बन्यो । त्यसपछि हामी प्रत्येक रात यहिँ भेट्न थालेका हौं । फेसवुकले जुराएको सम्बन्ध आज चोखो मायाँमा रुपान्तरण हुने क्रममा छ । हो इन्द्र, हामी दुईको मायाँ धेरै आत्मिय बनिसकेको छ । एकले अर्कोलाई भूल्न सक्दैनौं । त्यसैले अब झरणा एक्लैलाई छाडेर म शहर जान सक्दिन । घरमा बाबा आमाले शहर पठाउन कोशिस गरिरहनु भएको छ । पहिले प्यारो लाग्ने शहर भन्दा आज यहि गाउँ प्यारो लाग्दैछ । मैले कुनैपल झरणालाई भूल्न सकिरहेको छैन । त्यहि भएर हामी प्रत्येक रात सुर्के काकाकोे पानीघट्टमा भेट्छौं र फेसबुकमा बसेको मायाँ यहि साट्छौं । इन्द्र, अब म मेरी झरणालाई यहि महिना आफ्नो घर लिंदै छु । तिमि मेरो पुरानो साथी हौ । त्यो बेला मेरो बिहेमा तिमी जरुर आउनुपर्छ । यदि आएनौ भने म रिसाउँछु नी । सुन्यौ इन्द्र ? आजै तिमिलाई बिहेको निम्तो भयो है । 

 

झरणाले मोबाईल देखाउँदै इन्द्र, यदि तिमि पनि विदेश भएको भए मेरो लागि यस्तै मोबाईल पठाईदिन्थ्यौ होला नी भनेकी थिईन् ।

मैले खुशीसाथ पठाउँथ्ये नी भनेको थिएं ।

 

रुपेशले यति के भनेको थियो । मैले निन्याउरो अनुहार ऊ तिर लगाउँदै सानो स्वरमा हुन्छ भने । खोलाको सिरेटोले चिसिएको मेरो शरीर पसिनाले भिजे झैं निथ्रुक्क भईसकेको थियो । किनकी रुपेशले बिहे गर्न आँटेको झरणासंग मेरो गहिरो प्रेम थियो । उनको र मेरो प्रेम सम्बन्ध जोडिएको दुई वर्ष पुरा भईसकेको थियो । तर धोकेवाज झरणा खै कुन दिन रुपेशको मायाँमा परिन, मलाई त्यो कहिल्यै थाहा भएन । रुपेशको मायाँमा परेर विहेको अन्तिम तयारी गरेकी झरणाले त्यो कुरा मलाई कहिल्यै भनिनन् । केवल बनावटी मायाँ मात्र गरेकी रहिछन् । मलाई उनको मायाँमा विश्वास थियो । हाम्रो दिनहुँ भेटघाट भईरहन्थ्यो । हामी दुईको सम्बन्धलाई हाम्रो घरपरिवारले पनि थाहा पाईसकेका थिए । गाउँमा हामी दुईको प्रेम सम्बन्धको विषयमा अलि बढी चर्चा हुने गथ्र्यो । त्यसैले होला सकेसम्म अब छिट्टै बिहे गर्नुपर्छ भन्ने सोचमा थियौं । तर एकदिन झरणाले बिहे जस्तो कुरा किन हतारमा गर्ने ? केही सोच विचार गरेर मात्र गर्नुपर्छ क्या इन्द्र भनेकी थिईन् । त्यो कुराको मलाई खुब याद आयो । मैले त्यतिबेला मात्र थाहा पाएँ । आखिर झरणाले रुपेशलाई अंगालेकै कारण उनले केही सोच्नुपर्छ भन्ने रहस्यको पर्दाफास भयो । त्यसपछि म आफ्नो घरतिर लागें ।

 

पाँच महिना अघि झरणाको बाबाले विदेशबाट उनलाई एउटा मोबाइल पठाईदिएका थिए । घरमा झरणा, उनको आमा र सानो भाई भएकाले त्यो मोबाईल झरणाको साथमा हुन्थ्यो । पहिलो दिन मोबाईल हेर्नकै लागि म पनि झरणाको घरमा पुगेको थिएं । झरणाले मोबाईल देखाउँदै इन्द्र, यदि तिमि पनि विदेश भएको भए मेरो लागि यस्तै मोबाईल पठाईदिन्थ्यौ होला नी भनेकी थिईन् । मैले खुशीसाथ पठाउँथ्ये नी भनेको थिएं । केही दिनपछि झरणाले त्यहि मोबाईलमा फेसबुक चलाउन थालिन् । तर, मलाई त्यो फेसबुकको बारेमा केही थाहा थिएन र उनले पनि भनेकी थिईनन् । मोबाईल साथमा भएदेखी झरणाले म संगको भेटघाट समेत अलि कम गरेकी थिईन् । मैले त्यो कहिल्यै सोधिन । 


एकदिन घरको आँगनमा बसिरहेको थिएँ । एकजना गाउँले दाईले बिहेको निमन्त्रणा पत्र मेरो हातमा थमाईदिनुभयो । हतार गरेर त्यो पत्र हेरें, जहाँ झरणा र रुपेशको बिहे हुने दिनको मिति तोकिएको थियो । त्यो पत्र रुपेशले नै मेरो लागि पठाएको रहेछ । मनमा धेरै पिडा भएपनि उसको बिहेमा जाने निर्णय गरें । किनकी रुपेशलाई यसअघिको झरणा र मेरो मायाँको बारेमा थाहा थिएन । त्यो पुरानो कुरालाई मैले बिर्सन कोशिस गरिरहेको थिएं । मंसिर महिना सकिने बेला भएको थियो । रुपेश र झरणाको बिहे हुने दिनको मिति पनि आयो । म अलि ढिला गरी रुपेशको घरमा गएँ । त्यहाँ धुमधामका साथ बिहेको तयारी भईरहेको थियो । केही घण्टापछि बिहेको सबै विधि पुरा भएकाले अब सिन्दुर भर्ने काम सुरु भयो । जब रुपेशले झरणाको सिउँदोमा सिन्दुर भर्न थाल्यो, मैले रुपेशलाई कहिल्यै आफ्नो सम्झिन सकेन । मैले मायाँ गर्ने मेरी झरणालाई उसले खोसेर लिए जस्तो भईरहृयो । ऊ मेरो लागि अब साथी रहेन । मनमा अनेक कुरा खेल्न थाले । मन फेरी चिसियो । मैले सोचिरहें आफूले मन पराएको मान्छे आज आफ्नै आँखा अगाडि कसरी अर्कैको भयो ? यस्तै कुरा सोच्दा सोच्दै रुपेशले झरणाको सिउँदोमा सिन्दुर भरिसकेको थियो । झरणाको आँखाबाट आँशुका थोपाहरु बगिरहेका थिए । ती आँशुहरु त्यत्तिकै आएका थिएनन््, रुपेशले झरणाको सिउँदोमा सिन्दुर भर्दा उनी खुशी भएर झरेका आँशु थिए ।

 

मैले यस्तै कुराहरु सोचिरहें । जिन्दगीमा कसैलाई पाउन वर्षौंदेखी मायाँ गरेर मात्र हुन्न रहेछ । मन पराएको मान्छेको सिउँदोमा सिन्दुर भर्न त एउटा फेसबुक म्यासेज पठाए हुँदो रहेछ । 

प्रतिकृया दिनुहोस