युरोपमा झ्याउँकिरी तथा फट्याङ्ग्रा संकटमा पर्दै

 

गेमी त्रिवेणी समाचार डेस्क - रुकुम, २९ माघ । युरोपमा झ्याउँकिरी तथा फट्याङ्ग्रा संकटमा पर्दै गएको एक अध्ययनले देखाएको छ । युरोपमा पाइने मध्ये फट्याङ्ग्राका २५ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् । युरोपभरि किरा समूहका प्रजाति अहिले निकै संकटमा रहेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संगठन (आइयुसिएन) ले जनाएको छ ।

 

युरोपमा एक हजार भन्दा धेरै प्रजातिका किरा, फट्याङ्ग्रा पाइने गरेको छ । त्यसमध्ये २५ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको आइयुसिएनले जनाएको छ । झ्याउँकिरी तथा फट्याङ्ग्रासहित सम्पूर्ण किरा प्रजातिको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्नेमा आइयुसिएनले जोड दिएको छ । घाँसे मैदानमा पाइने किरा प्रजाति बढी संकटमा परेका छन् । घाँसेमैदानको कमी, डडेलो, सघन खेती प्रणाली तथा पर्यटन विकासका कारण किरा प्रजातिको बासस्थान घट्दै गएको आइयुसिएनले जनाएको छ ।


किरा तथा फट्याङ्ग्रा चरा र सरीसृप प्रजातिको मुख्य आहारा हुन् । यसले गर्दा किरा तथा फट्याङग्रा लोप हुँदा सम्पूर्ण पारिस्थितिक प्रणालीमा नै असर पर्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । लोप हुने अवस्थामा पुगेका प्रजातिको संरक्षणका लागि बासस्थानको संरक्षणसहितका अरु विभिन्न कार्यक्रम गर्नु पर्नेमा आइयुसिएनको ग्लोबल स्पेसिस कार्यक्रमका उप निर्देशक ज्यान क्रिस्टोफे विइले बताउनुभयो । उहाँका अनुसार तत्काल संरक्षणको कार्यक्रम गर्न नसकिएमा युरोपबाट झ्याउँकिरीको आवाज हराउँदै जाने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस